चार महानगरको चुनावी अपडेटः कसको स्थिति के छ ?

भक्तपुर न्यूज

२ जेठ २०७४ २:५३

चार महानगरको चुनावी अपडेटः कसको स्थिति के छ ?

भक्तपुर २ जेठ । पहिलो चरणको स्थानीय चुनावको मतगणना चारवटै महानगरपालिकामा जारी छ । बिहान सात बजेसम्मको नतिजा अनुसार चारवटै महानगरपालिकामा एमालेले अग्रता लिएको छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १७२ मतसहित अग्रस्थानमा छन् । उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् । थापाले १२० र कांग्रेसका राजुराज जोशीले १११ मत पाएका छन् । विवेकशील नेपालीकी रन्जु दर्शनाको ९१ मत छ ।

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा कांग्रेसकी हरिप्रभा खड्गी १५८ सहित अग्रस्थानमा छिन् । राप्रपाका राजाराम श्रेष्ठको १२१, साझा पार्टीकी निरुपमा यादवको ९१ र माओवादी केन्द्रकी सुशीला पौडेलको ११ मत छ । ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन् । व्यन्जनकारले २ हजार ६२५ मत पाएका छन् । उनलाई कांग्रेसका चिरिबाबु महर्जनले २ हजार १७७ मतसहित पछ्याइरहेका छन् । माओवादीका दिनेश महर्जनले ८४७ मत पाएका छन् ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले अघि छ । एमालेका मानबहादुर जीसीले १ हजार ६५, कांग्रेसका रामजी कुँवरले ७६७ मत पाएका छन् । संघीय समाजवादीका हुमबहादुर तमुको १९६ र राप्रपाको गिता गुरुङको ८१ मत छ । उपमेयरमा एमालेकी मन्जु गुरुङको १ हजार ५४, कांग्रेसकी सरस्वती गुरुङको ८४६ मत छ । संघीय समाजवादीकी लक्ष्मी परियारले ९२ र राप्रपाका रमेश खत्रीले ८० मत पाएका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा १ हजार १७५ मत गणना सकिएको छ र एमाले अघि छ । एमालेका देबी ज्ञवालीले ५३१ र माओवादीकी रेणु दाहालले ४५१ मत पाएकी छन् । उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी  पार्वती शाहको ४५४ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *