चुनावमा भाग लिग प्रधानमन्त्री दाहालको नागरिकलाई अपिल
काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावमा सक्रियरुपमा भाग लिएर आफ्नो सार्बभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् ।
पहिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहालले अपिल जारी गर्दै स्थानीय चुनावलाई ऐतिहासिक अवसर भनेका छन् र यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने कडीको रुपमा रहेको बताएका छन् ।
पहिलोचोटी हुन लागेको यो चुनावबाट सिंहदरवार केन्द्रित अधिकार र स्रोत साधन जनताको घर आँगनसम्म पुर्याउनका लागि ढोका खुल्ने दाहालको विश्वास छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार र निर्वाचन आयोगले कुनै कसर बाँकी नराखेको प्रधानमन्त्री दाहालले बताए ।
प्रधानमन्त्री दाहालले मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रवन्ध मिलाइएको बताए । उनले भने, तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु ।
समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको भन्दै उनले शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुने बताएका छन् ।
उनले भनेका छन्, धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलोचोटि हुँदैछ ।
केन्द्रिकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि चुनाव कोशेढुंगाका सावित हुने उनको भनाइ छ ।
यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्याउनका लागि ढोका खुला हुनेछ,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।