परिचय खुल्ने कागतजात भए मतदान गर्न पाउने
काठमाडौं, ३० बैशाख । मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र लिन जाँदा नाम उल्लेख नभएका मतदाताहरुका लागि निर्वाचन कार्यालयले परिचय खुल्ने कुनै सरकारी कागज भएमा मतदान गर्न पाउने जानकारी दिएको छ ।
स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको निर्वाचन कार्यालयले जानकारी दिएको हो । यस्तो समस्या बढ्दो भएपछि निवार्चन कार्यालयले यस्तो निर्ण गरेको हो ।
मतदाता नामावलीमा नाम भएको तर परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधाको फाइदा उठाउदै मतदान गर्न पाउँने छन् । तर त्यस्तो सुविधा लिन चाहने व्यक्तिको मतदाता नामावलीमा नाम अनिवार्य रुपमा हुनु पर्नेछ ।
निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण थालेको थियो । दुर्इ दिनमा ४० प्रतिशत परिचयपत्र वितरण गरिएको आयोगले जनाएको छ ।
धादिङ, नुवाकोट, दोलखा, कास्की लगायत कतिपय जिल्लाका मतदान केन्द्रमा पुगेका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेका छन् । नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामाजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने आयोगले जनाएको छ ।