उपत्यका भित्रै गगन थापालाई एमाले कार्यकर्ताले लखेटे
काठमाडौं ३० बैशाख । स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार विहान कपनमा एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले गगनेलाई लखेट् भन्दै सुकेधारासम्म लखेटेका छन् ।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । यसबारे एमालेले निर्वाचन आयोगलाई समेत उजुरी दिएको स्थानीय एमाले कार्यकर्ताले बताए ।
एमाले कार्यकर्ताको बिरोध र नाराबाजी छलेर कपन जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको थियो ।
मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । त्यही क्रममा उनलाई एमाले कार्यकर्ताले घेराउ गरेका हुन् । उनीहरुले थापाविरुद्ध नाराबाजी र गालीगलौजका साथै गाडीमा ढुंगा प्रहार गरेका थिए । एक समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेका हुन् ।
जोरधाराबाट हृयाण्ड बल ग्राउण्ड हुँदै निस्कने क्रममा मन्त्रीको गाडीमा पछाडिबाट ढुंगा हानिएको प्रहरीले जनाएको छ । मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए ।