सूर्यविनायकमा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा हुने
भक्तपुर, वैशाख २५ गते । यही वैशाख ३१ गते हुने स्थनीय तहको निर्वाचनमा भक्तपुरस्थित सूर्यविनायक नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाताको अनुमान छ । उम्मेदवारले मत माग्न घरदैलो गर्दा अन्य पार्टीको तुलनामा नेपाली काँग्रेस र एमालेप्रति मतदाताको लहर धेरै देखिएको मतदाता बताउँछन ।
यो नगरपालिकामा ३७ हजार ९ सय ५८ मत सङ्ख्या रहेको छ । दुवै पार्टीका मेयरका उम्मेदवारले आफूले निर्वाचन जित्ने सुनिश्चित भएको दाबी गरेका छन् । नेपाली काँग्रेस सूर्यविनायक नगरपालिकाका मेयरका उम्मेदवार विष्णुराज कार्की गएको संविधानसभाको निर्वाचनमा यस क्षेत्रमा काँग्रेसले निर्वाचन जितेकाले स्थानीय तहको निर्वाचन पनि आफूले जित्ने दाबी गर्छन् ।
उनले आफू युवा उम्मेदवार, सामाजिक छवि भएको व्यक्ति भएकाले आफूले निकटतम प्रतिद्वन्द्वीको भन्दा धेरै मतअन्तरले निर्वाचन जित्ने बताउँछ । नगरपालिकाभित्र काँग्रेसको सिङ्गो पार्टी पङ्क्ति मत माग्न घरदैलो अभियानमा हिँडेकाले पनि काँग्रेसले निर्वाचन जित्छ । बालकोट र कटुञ्जे काँग्रेसको गढ भएको र अन्य स्थानमा काँग्रेस अगाडि भएको दाबी कार्कीको छ । खासगरी निर्वाचनका क्रममा मतदाताले भूकम्पपछिको पुनःनिर्माण र विकासनिर्माणसम्बन्धी गुनासा राख्ने गरेको भन्दै आफू मेयर निर्वाचित भएपछि मतदाताका सबै प्रतिबद्धता पूरा गर्ने दाबी उनको छ ।
नेकपा एमाले सूर्यविनायक नगरपालिकाका मेयरका उम्मेदवार वासुदेव थापा भक्तपुरमा एमालेले लोकप्रिय काम गरेकाले स्थानीय तहको निर्वाचन आफूले जित्ने दाबी गर्छन् । उनले भूकम्प जाँदा एमालेले भक्तपुरका अधिकांश भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गरिदिएकोे, स्थानीय विकास निर्माणमा एमाले सधैँ अगाडि रहेको र नगरपालिकाभित्रका आम मतदातासामु आफू परिचित भएकाले निर्वाचन एमालेले जित्छ ।
उनले नगरपालिकाभित्रका १० वटा वडाका नङ्खेल, चित्तापोल, गुण्डू, सिपाडोल, दधिकोट, सिरुटार, एमालेको वर्चस्व रहेकाले आफूले त्यहाँको मतले निर्वाचन जित्ने दाबी गरे । बालकोट र कटुञ्जे पनि आफ्नो पार्टीको राम्रो उपस्थिति रहेको दाबी थापाको छ ।
मतदाताले विकासनिर्माणको काम तीब्र गतिमा अगाडि बढाउनुपर्ने र भूकम्पपछिको पुनःनिर्माणको काममा दलहरूले सहजीकरण गर्नुपर्ने माग राखेको भन्दै आफू मेयर निर्वाचित भएपछि जनताका अधिकांश योजना पूरा गर्ने आफूले विश्वास दिलाएको उनले बताए ।
नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलकृष्ण तज सिंहदबारको अधिकार गाउँसम्म पु¥याउने मूल एजेन्डा माओवादीको भएको भन्दै यही एजेन्डाका आधारमा आफूले निर्वाचन जित्ने दाबी गरे । मतदाताको चहाना र अपेक्षा धेरै रहेको भन्दै सबै चाहना एकैपटक पूरा गर्न नसकिने उनले बताए । राष्ष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार प्रवीण ढुङ्गेल आफू राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भएको र तटस्थ मत राप्रपामा आउने र आफूले निर्वाचन जित्ने दाबी गरे ।
नेपाल मजदुर किसान पार्टीका मेयरका उम्मेदवार मनशोभा ट्वाटी सूर्यविनायक नगरपालिकामा अन्य पार्टीका सबै पुरुष मेयरका उम्मेदवार र आफू मात्र महिला उम्मेदवार भएकाले अधिकांश महिलाको मत आफूलाई आउने र निर्वाचन जित्ने दाबी गरेका छन् । आफूहरू निरन्तर निर्वाचन प्रचार अभियानमा लागेको र नेमकिपाको घोषणापत्र पढेर जनताले आफूलाई निर्वाचित गर्ने उनको भनाइ छ ।
स्थानीय तह पुनःसंरचनाका क्रममा सूर्यविनायक नगरपालिकाभित्र साबिक ८ वटा गाविस मर्ज गरेर अहिले १० वटा वडा बनाइएको छ । जसमा बालकोट र कटुञ्जेमा दुई÷दुईवटा वडा र सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, नङ्खेल र चित्तपोललाई एक÷ एक वडा बनाइएको छ ।
विसं ०५४ को स्थानीय निकायको निर्वाचनमा बालकोट र कटुञ्जेमा नेपाली काँग्रेस, नङ्खेल, चित्तपोल, गुण्डू र सिरुटारमा एमाले र दधिकोट र सिपाडोलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन जितेको थियो । सूर्यविनायक नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीबाट दिलबहादुर तामाङ, नयाँ शक्ति नेपालबाट नारायणकृष्ण थापा, राष्ट्रिय जनमोर्चाबाट रमेश बञ्जाडे, नेकपा मालेबाट ज्ञानीराम च्वामी श्रेष्ठ र सानुकाजी छु श्रेष्ठ स्वतन्त्र गरी दस जना मेयर पदका लागि निर्वाचनको मैदानमा रहेको सूर्यविनायक नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।