सर्वोच्चको आदेशविरुद्ध प्रतिरोधमा उत्रने चेतावनी

भक्तपुर न्यूज

२३ वैशाख २०७४ ६:१८

सर्वोच्चको आदेशविरुद्ध प्रतिरोधमा उत्रने चेतावनी

काठमाडौं २३ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशको सत्तारुढ दल निकट युवा तथा विद्यार्थी संगठनहरुले विरोध गर्दै सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।

सर्वोच्चको फैसलालगत्तै आफ्नो धारणा सार्बजनिक गर्दै नेविसंघले संसदको विशेषाधिकारमाथि ठाडो हस्तक्षेप भएको ठहर गरेको छ । यो आदेशबाट नेपालको संसदीय व्यवस्थालाई नै धरापमा पार्ने षडयन्त्रको पर्दाफास भएको नेविसंघले टिप्पणी गरेको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले निकालेको विज्ञप्तिमा लेखिएको छ, नेपालको संविधान, बहुलवादमा आधारित राजनीतिक दल र संसदीय व्यवस्था क्रियाशील रहेको यथार्थतालाई बिर्सिएर आज गरिएको सर्वोच्चको आदेशले व्यवस्थापिका संसदको विशेषाधिकार माथि ठाडो आक्रमण मात्र गरेको छैन कि अध्याारो कोठाबाट संसदीय व्यवस्थालाई धरापमा पार्न तानाबाना बुन्नेहरुको षडयन्त्रको पर्दाफाससमेत भएको छ ।

यो विषम परिस्थतिमा विचलित नभई स्थानीय तहको चुनावमा सक्रिय रहन नेविसंघले युवा विद्यार्थीलगायत सबैलाई आग्रह पनि गरेको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सर्वोच्चको आदेशको विरोधमा शनिबार काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *