काठमाडौं र पोखराको मेयर कांग्रेसलाई दिने सहमति

भक्तपुर न्यूज

२१ वैशाख २०७४ ९:०३

काठमाडौं र पोखराको मेयर कांग्रेसलाई दिने सहमति

काठमाडौं २१ बैशाख । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेलको सहमति भएको छ । सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने छ भने चितवनको भरतपुरमा कांग्रेसले सघाउने छ । यद्यपि काठमाडौंको मेयर छाडेपछि ललितपुर आफूले पाउनु पर्ने माओवादीको दाबी छ ।

दुबै दलका नेताहरु अहिले पनि छलफलमै छन् । साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय भएकाले त्यसअघि टुंगो लाग्ने नेताहरुले बताएका छन् । उम्मेदवारी दर्ताकै दिन एमाले र राप्रपाबीच दुई महानगर काठमाडौं र ललितपुरमा चुनावी तालमेल भएपछि सत्तारुढ दुई दललाई दबाव बढेको थियो । तर, दुबै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दिइसकेकाले सहमति हुन गाह्रो देखिएको थियो ।

काठमाडौंमा कांग्रेसले राजुराज जोशीलाई मेयर र हरिप्रभा खड्गीलाई उपमेयरको उम्मेदवार बनाएको छ भने माओवादीले सर्वोत्तम डंगोललाई मेयर र सुशीला पौडेललाई उपमेयर बनाएको छ । काठमाडौंमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् र एमालेबाट मेयरमा विद्यासुन्दर शाक्य र राप्रपाबाट उपमेयरमा राजाराम श्रेष्ठ उम्मेदवार बनेका छन् ।

यस्तै भरतपुरमा कांग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयर बनाएको छ भने माओवादीले प्रचण्डपुत्री रेणु दाहाललाई मेयर र सुरेन्द्र तामाङलाई उपमेयरको उम्मेदवार बनाएको छ । पोखरामा जिल्लास्तरमै दुबै दलबीच तालमेलको प्रयास भएको थियो तर, सहमति जुट्न नसकेपछि कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर तथा माओवादीले विश्वप्रकाश लामिछानेलाई मेयर र उमा ढकाललाई उपमेयरको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *