प्रचण्डद्वारा महाअभियोग फिर्ता लिन अस्वीकार
काठमाडौं २१ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाभियोग फिर्ताको निर्णय लिन नसक्ने बताएका छन् ।
फिर्ता नलिए संसदमा तत्काल पेश गर्न आग्रह गरे । कार्कीको कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग आएको भन्दै एमाले नेताहरुले यसलाई लामो समय संसदमै अड्काएर राख्न नहुने बताए । स्रोतले भन्यो, ‘एमालेले तत्काल निर्णय गर्नुपर्छ । छलफल र समितिमा पठाएर अड्काइ राख्न मिल्दैन भनेको छ ।’ मालेले महाअभियोगबारे संसदमा कुन दिन भोटिङ गर्ने आजको बैठक अघि नै तय हुनु पर्ने शर्त राखेको छ ।
अन्यथा महाअभियोगलाई संसदमा पेश गर्न नदिने संकेत एमाले नेताहरुले दिएका छन् । कार्यकाल रहँदासम्म महाअभियोगबारे संसदले निर्णय नगर्नु बदनियतपूर्ण हुने उसले बताएको छ ।