मध्यपुर ठिमी नगरपालिकामा एलायन्स
भक्तपुर २० बैशाख। राजधानी उपत्यकाको सबैभन्दा सानो जिल्ला भक्तपुरमा बामपन्थी दलहरुबीच चुनावी तालमेलको प्रयास शुरु भएको छ । भक्तपुरमा बलियो प्रभाव रहेको नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबीच चुनावी तालमेल शुरु भएको छ ।
मध्यपुर ठिमी नगरपालिकामा माओवादी केन्द्रलाई समेत साथमा लिएर कांग्रेसविरुद्ध बामपन्थी तालमेल भएको पुर्व मन्त्री तथा एमाले नेता महेश बस्नेतले बताए । मध्यपुरमा एमालेले मेयर र मजदूर किसानले उपमेयर पाएका छन् । मध्यपुरका ९ ओटा वडामध्ये तीन दलले तीन तीनओटा बाँडेका छन् । मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् भने उपमेयरमा नेमकिपाका केदार खड्का उम्मेदवार बनेका छन् ।
एमाले र मजदूर किसान पार्टीबीच सुर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि तालमेलको प्रयास भइरहेको छ । ती दुवै नगरपालिकामा एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन् । नेमकिपाले उपमेयर दावी गरेको छ भने एमालेले वडाध्यक्षमा मिलाउन खोजेको छ । सदरमुकाम भक्तपुर नगरपालिकामा भने नेमकिपाले कसैसँग पनि तालमेल नगर्ने भएको छ । भक्तपुर नगरपालिकालाई उसले आफ्नो आधारक्षेत्र मान्दै आएको छ ।