भक्तपुरमा उम्मेदवारको टुङ्गो लगाउँने कसरत जारी
भक्तपुर, १९ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा ९माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा मालेले केही नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएका छन् । एमालेले मध्यपुरथिमी नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदी तथा सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा जुना बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी माओवादी केन्द्रले मध्यपुरथिमि नगरपालिकाको प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी भएपनि उपप्रमुखमा भने बालकृष्ण डुगुलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज डिपी ढकालले जानकारी दिए । माओवादी केन्द्रले चाँगुनारायण नगरपालिकाको प्रमुखमा शिव अधिकारी र उपप्रमुखमा लक्ष्मी खड्का तथा सूर्यविनायक नगरपालिकाको प्रमुखमा दिलकृष्ण तज तथा उपप्रमुखमा पुण्यवती चौलागाईंलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपर नगरपालिकाको प्रमुखमा मिलन सुवाल र उपप्रमुखमा इन्द्रमाया सुवाललाई उम्मेदवार बनाउने निर्णयसमेत गरेको सो पार्टीले जनाएको छ ।
यस्तै राप्रपाले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रवीन्द्रप्रताप शाह र उपप्रमुखमा यवती कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा सञ्चार संयोजक राजीव लामिछानेले जानकारी दिए । राप्रपाले सूर्यविनायक नगरपालिकाको प्रमुखमा प्रविण ढुङ्गेल र उपप्रमुखमा जयन्ती महत तथा भक्तपुर नगरपालिकाको प्रमुखमा रवीकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बाँकी पदका लागि भने अझै टुङ्गो लाग्न नसकेको लामिछानेले बताए ।
त्यसैगरी मालेले सूर्यविनायक नगरपालिकाको प्रमुखमा ज्ञानीराम श्रेष्ठ र उपप्रमुखमा सीता खड्का, मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा वसन्तबहादुर खत्री र उपप्रमुखमा केदारलक्ष्मी श्रेष्ठ, चाँगुनारायण नगरपालिकाको प्रमुखमा साधुराम दाहाल र उपप्रमुखमा दुर्गा रम्तेललाई उम्मेदवार बनाउने निर्णय गरेको मालेका जिल्ला सचिव अदिप खड्काले जानकारी दिए । नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतले उम्मेदवारको टुङ्गो लगाउन अन्तिम प्रयास चलाईरहेका छन् ।