आजदेखि ३४ जिल्लामा चुनावी प्रक्रिया शुरु
काठमाडौं १९ बैशाख । पहिलो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि दलहरु धमाधम उम्मेद्वारहरुको टुंगो लगाउन जुटेका छन् ।
पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । बैशाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ ।
पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा हुँदैछ । प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।
त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।