राष्ट्रपति भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै
काठमाडौँ, ४ वैशाख । राष्ट्रपति विद्या भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै छिन् । भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण गर्न लागेकी हुन् । राष्ट्रपतिको पहिलो विदेश भ्रमणको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
३४ सदस्यीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् ।
राष्ट्रपति भण्डारी आज दिल्ली पुगेपछि होटल ताजमान सिंहमा नेपाली राजदूत दिपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । राष्ट्रपति भण्डारीले भोलीबाट मात्रै राजनैतिक भेटवार्ता सुरु गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणका क्रममा दुई देशबीच कुनै महत्वपूर्ण सम्झौता भने नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत बसाईका क्रममा राष्ट्रपतिले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नेछिन् । उनलाई राष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनेछिन् ।
यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए ।