एनसेलबाट कर जसरी पनि उठाईन्छ : प्रधानमन्त्री
काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलसँग जसरी पनि कर उठाइ छाड्ने बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले एनसेल बेच्ने र किन्ने दुबै पक्षसँग सरकारले वार्ता गरिरहेको बताए ।
‘उनले भने, एनसेल कहिँ गएको छैन, हामी जसरी पनि कर उठाउँछौं । दाहालले विगतमा विक्रेतासँग कर नलिएको बारे समेत सरकारले छानविन गर्ने पक्षमा आफू रहेको बताए ।
‘कर छुट दिने कुनै प्रस्ताव मन्त्रिपरिषदमा गएको छैन । मन्त्रिपरिषदमा छिटोभन्दा छिटो कर असुली गर्नुपर्छ भन्नेमा छलफल भएको छ, प्रधानमन्त्री दाहालले भने, इफ बट केही नभनी कर उठाइन्छ । यसमा उदारता हुँदैन् ।
बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपालको कानुन अनुसार लाभकर विक्रेतासँग लिने भन्ने छ । तर विक्रेतसँग किन असुल गरिएन? यसको पनि छानबिन गरेर यो विषयलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याइने आश्वासन दिए ।
एनसेललाई तिर्नु पर्ने कर नतिर्नु पर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव गएको भन्दै लेखा समितिले सोबारेमा बुझ्न प्रधानमन्त्रीलाई बैठकमा बोलाएको थियो ।