मधेसीलाई बिहार जाऊ भन्दा केही नेताले गोहीको आँशु चुहाए : अध्यक्ष ओली
काठमाडौं, २५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मधेसीलाई बिहार जाऊ भन्दा केही नेताहरुले गोहीको आशुँ चुहाएको बताएका छन् ।
राजधानीमा आज पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघको २९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
ओलीले मधेसीलाई बिहार जाऊ भनेर आफूले कहिल्यै नभनेको दावी गर्दै एमाले र मधेसको साइनो अत्यन्त गाँढा भएको र मधेसी जनतालाई आफुले सधैँ सम्मान गर्ने बताए ।
अध्यक्ष ओलीले देशमा बुद्धिजीवीहरुको संख्या ठुलो भएपनि उनीहरुले कसले ठीक र कसले बेठिक गरेको हो भनेर छुट्याउन नसकेको भन्दै केही दल र व्यक्तिका कारण देश बर्वादीतर्फ गइरहेको बताए ।
ओलीले एक फरक प्रसंगमा मधेसवादी दलले देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा जनता माझ विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेको आरोप समेत लगाए ।