मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा : कोइराला
पर्सा, २४ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाले वीरगन्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मोर्चालाई सहभागी नगरार्इ भएको स्थानीय तहको निवार्चनले तराईमा जातीय द्वन्द्व बढाउनुको साथै अतिवादी शक्ति हाबी हुने बताए ।
कोइरालाले नेपाली काँग्रेस, माओवादी र एमालेले मात्र चाहेर देशमा स्थिरता नआउने भन्दै मधेसी मोर्चालाई समेत सामेल गराएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
नेकपा एमाले व्यवस्थापिका संसदमा संविधान संसोधन प्रस्ताव निर्णयार्थ पेश गर्न दिन्छ भन्ने विश्वास आफुले नलिएको भन्दै उनले सिंमाङ्कनको विषय आयोग बनाई समाधान गर्ने हो भने मधेसको प्रतिनिधित्व सुनिश्चतताको साथै सबै दललाई मान्य हुने गरी आयोगको कार्यादेश बनाउनुपर्नेमा जोड दिए।