देउवा विरुद्धको अवहेलना मुद्दाको बहस आज
काठमाडौं, २४ चैत । नेपाली कांग्रेस र सभापति शेरवहादुर देउवालाई विपक्षी बनाएर परेको आइतबार दायर अदालतको अवहेलना मुद्दामा आज सर्वोच्च बहस हुने भएको छ ।
अधिवक्ता हरि मैनालीले रिट दायर गरेको रिटको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा कांग्रेस केन्द्रीय समितिले निर्णय र सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै मैनालीले रिट दायर गरेका थिए ।
सर्वोच्चको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा पहिलो नम्बरमा परेकालाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो ।
कांग्रेसले भने सर्वोच्चको यो आदेशलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप भनेको छ ।
अदालतको अवहेलना ठहर भएमा १ वर्षसम्म कैद, १ लाख रुपैयाासम्म जरिवाना वा दुबै सजाय हुन सक्छ ।