कांग्रेसले कहाँ–कहाँ गर्दैछ चुनावी सभा
काठमाडौं, २२ चैत । आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य, पार्टीका पूर्वमन्त्री, पूर्व सांसद तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुसँग छलफल गर्दैछ ।
निर्वाचनका लागि गठन भएको निर्वाचन परिचालन समितिले छलफल गर्न लागेको हो । समितिले पूर्वमन्त्री, पूर्व सांसद तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गर्नेछ ।
सात प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको कांग्रेसको प्रदेशमा गर्ने सभाको मिति र स्थान पनि निश्चित गरिएको छ । परिचालन समितिको सोमबार हिजो बसेको बैठकले सभा गर्ने ठाउँ र मिति टुंगो लगाएको हो ।
चुनावी सभा प्रदेश नम्बर ७ को कैलालीबाट चैत २७ मा शुरु गरिने भएको छ । प्रदेश नम्बर ५ को सभा चैत २८ मा तुलसीपुर, र २९ गते रुपन्देहीमा, प्रदेश ४ को पोखरामा २० गते हुनेछ ।
प्रदेश नम्बर २ को ३१ गते जनकपुरमा र प्रदेश १ को वैशाख २ गते झापामा हुनेछ । प्रदेश नम्बर ३ र ६ को सभा स्थान र मिति भने पछि तय गरिने समितिले जनाएको छ ।
सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुले आमसभामा समन्वय र सहयोग पुर्याउने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेसले विभिन्न उपसमितिहरु गठन गरेको छ । समन्वय उपसमिति, आर्थिक स्रोत परिचालन, प्रचार–प्रसार समन्वय, सुरक्षा समन्वय, मतदाता शिक्षा तथा सचेतना समन्वय, निर्वाचन अनुगमन र निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको छ ।