८ जिल्लामा मात्रै ३ लाख २५ हजार नयाँ मतदाता
काठमाडौं २२ चैत । निर्वाचन आयोगले २ नम्बर प्रदेशका ८ जिल्लामा मात्रै ३ लाख २५ हजार नयाँ मतदाता थपिएको विवरण सार्वजनिक गरेको छ। तराई मधेसमा ठूलो संख्यामा मतदाताहरुको नाम छुटेको दाबी गर्दै आएको मधेसी मोर्चाको खण्डन गर्दै आयोगले स्थानीय तह निर्वाचन अगाडि पुनः मतदाता नामावली अध्यावधि गर्न नपर्ने बताएको हो।
निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मध्ये १९ लाख ६ हजार ६ सय १७ मतदाता २०७० को दोस्रो संविधानसभा निर्वाचनपछिको तीन वर्षको अवधिमा थपिएका हुन्। प्रतिशतको आधारमा देशभरिबाट विगत तीन वर्षको अवधिमा १३.५६ प्रतिशतले बृद्धि भएको तथ्यांक निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
दोस्रो संविधानसभा २०७० को निर्वाचनपछि अहिलेसम्मको अवधिमा दुई नम्बर प्रदेशमा पर्ने ८ जिल्लामा मात्रै ३ लाख २४ हजार ९४७ नयाँ मतदाता थपीएका छन्। जुन कुल बृद्धि भएको संख्या १९ लाख ६ हजारको ६ सय १७ को १७ प्रतिशत बृद्धि यही प्रदेशबाट रहेको छ भने बाँकी १५ लाख ८१ हजार अर्थात ८३ प्रतिशत बृद्धि अरु प्रदेशमा पर्ने जिल्लाबाट भएको छ।
आयोगको तथ्यांक अनुसार, सप्तरीमा २०७० को मतदाता संख्या २ लाख ९४ हजार ७ सय ७ रहेको थियो। विगत तीन वर्षको अवधिमा उक्त जिल्लामा ३६ हजार ७ सय ५५ मतदाता नयाँ थपिएर हाल २ लाख ३१ हजार ४ सय ६२ पुगेको छ। सिराहामा तीन वर्षअघि २ लाख ९१ हजार १ सय २६ मतदाता रहेका थिए। जसमा अहिले ४० हजार ४ सय ७० मतदाता थपिएर कुल ३ लाख ३१ हजार ५ सय ९६ पुगेको छ।
धनुषा जिल्लामा यसअघिको मतदाता संख्यामा ५१ हजार ६ सय ५८ नयाँ मतदाता थपिएर ३ लाख ८९ हजार ३८५ मतदाता कायम भएको छ। यसैगरी महोत्तरीमा ४१ हजार ४० मतदाता थएिर ३ लाख ८ हजार ४ सय ४ मतदाता कायम भएको छ। प्रतिशतको आधारमा समान देखिए पनि संख्याको हिसाबमा दुई नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लामा सबैभन्दा कम अर्थात २८ हजार ३ सय ४० नयाँ मतदातासहित कुल २ लाख ८० हजार २ सय ११ मतदाता कायम भएको छ।
बारामा ३७ हजार १ सय ५० मतदाता थपिएर ३ लाख ३३ हजार ६ सय ७८ मतदाता संख्या पुगेको छ भने रौतहटमा ४३ हजार ६ सय ७८ नयाँ मतदाता थपिएर ३ लाख २३ हजार ४ सय ५० मतदाता संख्या रहेको छ। यसैगरी सर्लाहीमा ४५ हजार ९ सय ५६ मतदाता नयाँ थपिदा ३ लाख ६६ हजार ५ मतदाता संख्या र महोत्तरीमा ४१ हजार ४० नयाँ मतदातासहित ३ लाख ८ हजार ४ सय ४ कायम हुन पुगेको छ।