बामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति
काठमाडौं, २१ चैत । नेकपा एमालेले बामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति बनाएको छ ।
नेकपा एमालेका स्थायी कमिटीको आज बसेको बैठकले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि घोषणापत्र बनाउन गौतमको संयोजकत्वमा समिति बनाएको हो । समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
यस्तै, बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।
यस्तै बैठकले यसअघि नै निर्णय गरेअनुसार उम्मेदवारको सिफारिस पठाउनका लागि मिति पनि तोकेको छ । वडा कमिटीहरुले यही चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ ।
पार्टी स्थायी समितिले वैशाख १२ गते बैठक बसेर उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट निर्णय केन्द्र एमालेले जनाएको छ । यस्तै बैठकले चुनावका लागि सबैलाई क्रियाशील हुन पनि आग्रह गरेको छ ।