मधेसी मोर्चा नआएपनि निर्वाचन रोकिन्न : देउवा
बिराटनगर, १८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाविना पनि आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले मधेसी जनता चुनावको पक्षमा छन्, पार्टीले भन्दैमा चुनाव रोकिन्न, चुनाव कुनै पनि हालतमा हुने बताए ।
सत्तापक्षको प्रयास अहिले पनि स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई पनि सहभागी गराउने छ र सोही ढंगबाट मधेसी मोर्चासँग वार्ता र छलफल चलिरहेको भन्दै देउवाले मधेसी मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुने बताए ।
कांग्रेस सभापति देउवाले चुनाव एकै चरणमा सम्पन्न गर्ने बताए । पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कन बाहेकका अन्य विषयलाई टुङ्गाएर मधेसी मोर्चालाई पनि चुनावका सहभागी गराउने प्रयत्न भने भइरहेको जानकारी दिए ।
विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा देउवाले कार्यपालिकाको अधिकार न्यायपालिकाले हस्तक्षेप गरेको स्वीकार गर्दै सरकारले गर्ने निर्णय अदालतले गरेको प्रति टिप्पणी समेत गरे ।