निर्वाचन आयोग आफैले टुङगो लगाउने
काठमाडौ १६ चैत । निर्वाचन आयोग २ नम्बर प्रदेशका ६ जिल्लामा मतदान स्थलको टुंगो आफैले लगाउने भएको छ । दलहरुबिच सहमति नजुटेका कारण आयोग आफैले मतदान स्थल टुङगो लगाउने भएको हो ।
अरु सबै जिल्लाले मतदानस्थलको टुंगो लगाइसके पनि २ नम्बर प्रदेशमा पर्ने बारा र पर्सा बाहेक अन्य जिल्लामा सहमति हुन सकेको छैन । आयोगले बारम्बार ताकेता गर्दा पनि ती जिल्लाका स्थानीय राजनीति दलबिच सहमति हुन नसक्दा समस्या भएको हो ।
पर्सी शुक्रबार सम्म पनि जिल्लाले नपठाए आयोग आफैंले मतदान स्थलको टुंगो लगाउने तयारी गरेको हो । आगामी आइतबार सम्ममा सबै जिल्लाको मतदान स्थलको टुंगो लागि सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आगामी आइतबारसम्म मतदाता नामावली र मतदान केन्द्रको एकैपटक टुंगो लगाउने आयोगले तयारी गरेको हो । झण्डै एक करोड ४० लाख मतदाताको स्थानीय तहको नाम, वडा, मतदान केन्द्र खुल्ने गरी मिलाउने काम भइरहेको आयोगले जनाएको छ ।
गएको फागुन ९ गतेसम्म १८ वर्ष पूरा भई नाम दर्ता गराएका नागरिकले वैशाख ३१ गते भोट हाल्न पाउनेछन् । मतदाता नामावलीलाई अन्तिम रुप दिएपछि परिचयपत्र छाप्ने तयारी छ । यस्तै आयोगले मतपेटिकाको व्यवस्थापन पनि अन्तिम चरणमा र्पुयाएको छ । २१ हजार मतदान केन्द्रका लागि आवश्यक पर्ने मतपेटिका मध्ये अपुग ३० हजार मतपेटिका केहीदिनमै आइपुग्ने आयोगले जनाएको छ ।