मधेशी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा : एमाले नेता राई
भक्तपुर, ३ चैत । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेशी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता राईले पटक पटक वार्तामा बोलाउँदा पनि आन्तरिक बिवाद मिलाउन नसक्ने मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका हुन् ।
नेता राईले मधेशी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको बताए । मोर्चाको नियतमै खोट भएकाले मधेशी मोर्चा देशलाई कसरी अराजक, द्धन्द्धमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी गरिरहेको उनले बताए ।
वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उनले स्पष्ट पारे । मधेशी नेताहरुको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको बताउँदै उनले भने, मोर्चाका नेताहरुले मौका परे संविधानसभा आउने भक्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिँड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ । मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सदभावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने उनेको टिप्पणी छ ।
निर्वाचनका सवालमा अहिले अनेकौं खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने बताए । मधेशी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेशी नेताले नचाहाँदैमा निर्वाचन नरोकिने उनको भनाइ छ ।
सरकार ससाना कुरामा अल्झेर संविधान कार्यान्वयनमा ईमानदार नभएको भन्दै वर्तमान सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता ससाना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य सक्ता केहि दिन र महिना दिन भएपनि टिकाउने खेल मात्र गरेको दावी गरे ।
सरकार साँच्चिकै संविधान कार्यान्वयनमा ईमानदार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उनले बताए । सरकारले जतिसुकै तानतुन गरेपनि सरकार केहि दिन केहि महिनामात्र टिक्नेसमेत उनको दावी छ । उनले संबिधानको सफल कार्यान्वयन र निर्वाचनको परिस्थितिलाई सही ट्रयांकमा ल्याउन सरकारले बाटो छोड्नु पनेमा जोड दिए ।
संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे । वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाए ।
काँग्रेस र माआवादी बीचको सहमती अनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले ब्यक्त गरेका प्रतिबद्धता अनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा ईमानदारीता नदेखाएको बताए ।
उनले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बताए ।
सप्तरी घटनामा एमाले दोषि नभएको बताउँदै सप्तरी घटनामा मधेशी मोर्चा प्रत्यक्ष दोषी भएको बताउँदै सुरक्षाकर्मीमाथि पेटोलियम बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दुखद घटना हुन पुगेको बताए । उनले भने सरकारकै साझेदार मधेशी मोर्चामाथि एमालेले नभएर सरकारकै तर्फबाट उक्त घटना घटाएको हो । यसमा एमालेलाई बीचमा ल्याएर मेची महाकाली अभियान माथि आरोप लगाउने काम गर्नु राजनीतिक बेइमानी भएको बताए ।