मृतक परिवारलाई मोर्चाद्वारा जनही ५१ हजारक्रिया खर्च
राजविराज, २ चैत्र । एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनलाई मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेका छन्।
मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा कार्यकर्ताले मृतक परिवारलाई घरमै पुगेर क्रिया खर्चबापत आर्थिक सहयोग गरेको मोर्चाले जनाएको छ।
नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभालाई बिथोल्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच एक हप्ता अगाडि झडप भएको थियो।
सो झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरीको मलेठ गाविस–२ निवासी २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साह र मलेठ–४ का वीरेन्द्र महतो तथा जमुनी मधेपुरा गाविस–१ निवासी ५५ वर्षीय इनरदेव यादवको मृत्यु भएको थियो।