एफबिआई र सिआइएद्वारा विकिलिक्सले सार्वजनिक गरेको सूचना बारे छानबिन सुरु
एजेन्सी, २६ फागुन । अमेरिकाको संघीय जाँच आयोग (एफबिआई) र गुप्तचर निकाय सिआइएले अमेरिकी निकायले ह्याकिङका लागि प्रयोग गर्ने गरेको साइबर हतियारको सूचि सार्वजनिक भएको घटनाको छानबिन सुरु गरेका छन् । विकिलिक्सले मंगलबार सिआइएले विश्वभरका टेलिभिजन तथा मोवाइल ह्याक गरी सूचना लिनका लागि प्रयोग गर्ने सामग्री तथा प्रविधिको सूचि सार्वजनिक गरेको थियो । सिआइए, एफबिआई तथा राष्ट्रपति कार्यालयले विकिलिक्सले सार्वजनिक गरेको सूचिको पुष्टि गरेका छैनन् । उनीहरुले त्यस्ता कुनै पनि सामग्री तथा प्रविधि प्रयोग नगरिएको दाबी गरेका छन् । विकिलिक्सले सार्वजनिक गरेको सिआइएले ह्याकिङका लागि प्रयोग गर्ने गरेको साइबर हतियारको सूचिमा विन्डोज, एन्ड्रोइड, आइओएस, ओएसएक्स र लाइनक्स कम्प्युटर तथा इन्टरनेट राउटरलाई पनि निशाना बनाउन सक्ने भाइरस पनि रहेको विकिलिक्सले जनाएको छ । टेलिभिजन तथा टेलिफोन ह्याकिङका लागि प्रयोग गर्ने केही सफ्टवेयर भने सिआइए आफैले तयार गरेको विकिलिक्सले दाबी गरेको छ । यस्तै बेलायतको एमआई फाइभले सामसुङ टेलिभिजनलाई ह्याक गर्न मिल्ने सफ्टवेयर बनाउन सिआइएलाई सहयोग गरेको पनि विकिलिक्सको भनाई छ ।
अमेरिकाको साइबर क्षमताका बारेमा जानकारी राख्ने एडवार्ड स्नोडेनले भने विकिलिक्सले सार्वजनिक गरेको दस्ताबेज तथा सूचना सही रहेको हुन सक्ने बताएका छन् । विकिलिक्सले निकै संवेदनशील प्राविधिक विधी बारेको जानकारी सार्वजनिक गरेकाले सिआइएका लागि यो निकै समस्यापूर्ण हुन सक्ने विश्लेषकले बताएका छन् ।