भारतबाट ३५ मेगावाट थप बिजुली ल्याउने तयारी
काठमाडौं, २४ फागुन । नेपाल विद्युत प्राधिकरणले कुशाहा–कटैया १३२ केभी प्रसारण लाइनबाट करिब ३५ मेगावाट बिजुली ल्याउने प्रक्रिया अघि बढाएको छ । सुख्खायामभरी लोडसेडिङ नगर्ने लक्ष्यअनुसार थप बिजुली ल्याउने तयारी गरिएको हो । आन्तरिक काम सकेर बिजुली उपलब्ध गराइदिन प्राधिकरणले भारतलाई पत्राचारसमेत गरेको छ । विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न गठित नेपाल–भारत चौथो सचिवस्तरीय संयुक्त बैठकको निर्णयअनुसार बिजुली किन्न प्रस्ताव पठाइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
भारतको एनटिपिसी कम्पनीलाई पत्राचार गरिएको छ, उसले नेपालमा बिजुली बेचिरहेको एनभिभिएनमार्फत प्राधिकरणलाई जानकारी गराउनेछ, उनले भने, त्यसपछि मात्र कुन दरमा, कति बिजुली ल्याउने वा कति अवधिसम्म ल्याउने भन्ने स्पष्ट हुन्छ । एनभिभिएन वा अर्को कम्पनीले बेच्ने भन्ने विषय पनि भारतले नै निर्णय गर्ने उनले बताए ।
प्राधिकरणले अहिले सञ्चालनमा रहेको कुशाहा–कटैया १३२ केभी लाइनबाट १ सय ३० मेगावाटसम्म बिजुली किनिरहेको छ । यहाँबाट थप १० मेगावाट ल्याउन सकिने र अर्को लाइनबाट ३५ मेगावाट उपलब्ध भए तराई क्षेत्रलाई ठूलो राहत पुग्ने अधिकारीले बताए । नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनीबाट प्राधिकरणले बिजुली आयात गरिरहेको छ । प्राधिकरणले अहिले उच्च माग हुँदा भारतबाट ३ सय ८५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । ३५ मेगावाट थपिएपछि आयातको परिमाण ४ सय २० मेगावाट पुग्नेछ । यो केन्द्रीय प्रसारण प्रणालीमा जडित बिजुलीको झन्डै आधा हो ।