सप्तरी घटनाका बारे तीन वटै सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले सोधे

भक्तपुर न्यूज

२४ फागुन २०७३ ७:५१

सप्तरी घटनाका बारे तीन वटै सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले सोधे
काठमाडौं २४ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेका छन्।

मंगलबार बिहान नेपालगञ्जबाट फर्किएका निधिले प्रहरी प्रधान कार्यालय नक्सालमा तीनै सुरक्षा निकायका प्रमुखसँग सप्तरी घटनाका बारेमा छलफल गरेका हुन्। झण्डै डेढ घन्टा लामो छलफलको सुरुमै गृहमन्त्री निधिले झोक्किदै ‘तपाईँहरु यति तालिमप्राप्त सुरक्षाकर्मीले सधैँ किन टाउकोमै गोली हान्नुहुन्छ’ भनेर सोधेका थिए।

स्रोतका अनुसार जवाफमा सुरक्षा निकायका प्रमुखहरुले आफ्नो बचाउ गर्दै यस्ता घटनामा एक्कासी स्थिति भड्किने र सुरक्षाकर्मीले हतारमा निर्णय र कारबाही गर्नुपर्ने कारणले यस्तो स्थिति हुने बताएका थिए। आन्दोलन र भीड नियन्त्रणको सवालमा स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले घुँडामुनि गोली चलाउन सक्ने व्यवस्था स्थानीय प्रशासन ऐन गरिएको छ। तर पनि यस्ता अधिकांश आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली कम्मरभन्दा माथि नै लागेर प्रदर्शनकारीको ज्यान जाने गरेको छ।

यसैबीच गृह मन्त्रालयले सप्तरी घटनापछि प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनी, नायब प्रहरी उपरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक जयबहादुर खड्कालाई मन्त्रालय बोलाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *