राजविराजमा एमालेको कार्यक्रम स्थल नजिकै बम भेटियो
सप्तरी, २३ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत आज सप्तरीमा हुने जनसभालाई रोक्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले ठाउँ ठाउमा प्रदर्शन सुरु गरेका छन् ।
यसैबीच राजविराज रुपनी सडकखण्ड अन्तरगत ७ किलोमिटर भन्ने स्थानमा बम फेला परेको छ । कार्यक्रम स्थल औद्योगिक क्षेत्रबाट ४ किलोमिटर उत्तर कल्भर्टमूनी बम भेटिएको हो । बम भेटिएको स्थानतर्फ प्रहरी परिचालन भइसकेको सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।
यता जिल्लाको रुपनीमा आधा दर्जन गाडी तोडफोड गरेका छन् । मोर्चाले चक्काजाम गरेको बेला गाडी चलाएको भन्दै मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
गाडी तोडफोड गरेको आरोपमा प्रहरीले सदभावना पार्टीका दिनेश यादव र रामसपाका युवा लिगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्णलाई पक्राउ गरेको छ । यसैगरि प्रहरीले जिल्लाको कंचनपुरबाट गाडीलाई अवरुद्ध पार्न खोज्ने तीन जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
यता मोर्चाका नेता तथा कार्यकर्ताहरुले आज बिहानैदेखी राजविराजमा लाठी जुलुससहित प्रदर्शन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।