भारत र चीनका राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटे
काठमाडौं, १७ फागुन । आज बिहान भारत र चीनका राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेले आज बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालसँग बिदाइ भेट गरे। भेटमा प्रधानमन्त्रीले राजदूत रेको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारतबीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरे। राजदूत रेले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गरे। राजदूत रे आफ्नो कार्यकाल सकेर भोलि भारत फर्किदँ छन्।
आजै बिहान नेपालस्थित चिनियाँ राजदूत यु होङले पनि प्रधानमन्त्री दाहालसँग भेट गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भयो। भेटमा प्रधानमन्त्री दाहालले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीले नेपाल र चीनबीच कनेक्टिभिटी, पूर्वाधार विकास र पूर्व सम्झौताहरुको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताए। प्रधानमन्त्रीले सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको बताउँदै त्यसका लागि चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे। चिनियाँ राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त हार्दिक रहेको बताउँदै नेपालको पूर्वाधार विकासका कार्यक्रमहरु सकारात्मक रुपमा अगाडि बढिरहेको र आगामी दिनमा थप तिब्रता दिइने बताइन्। नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको बताउँदै होङले त्यसमा चीनको सदैव सद्भाव रहने बताइन्।