पोखरामा बर्डफ्लु भेटियो

भक्तपुर न्यूज

१४ फागुन २०७३ ९:५३

पोखरामा बर्डफ्लु भेटियो

काठमाडौं, १४ फागुन । जाडो मौसम सकिनै लाग्दा पोखराको खाल्टे मसिनामा बर्डफ्लु भेटिएको छ । पोखरा उपमहानगरपालि १८ स्थित स्थानीय मीना परियारले पालेका कुखुरा र हाँसमा बर्डफ्लुको संक्रमण पुष्टि भएको हो ।
उनले पालेका ११ लोकल कुखुरा र २० वटा हाँसमध्ये सवै कुखुरा र १७ वटा हाँस मरेपछि काठमाडौंस्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोग शाखामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
गत फागुन ६ गते नमुना संकलन गरी परिक्षणका लागि क्षेत्रीय पशुरोग अन्वेषण केन्द्र पठाईएको थियो । नमुना परिक्षणका क्रममा एच फाईभ एन वन देखिएको शाखाले जनाएको छ ।
परिक्षणमा बर्डफ्लु पुष्टि भएसँगै जिल्ला पशु सेवा कार्यालयले रोकथाम तथा संक्रमण फैलन नदिन आवश्यक तयारी थालेको छ । स्थानीय प्रशासनले आजै बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण तथा ओसारपसारमा पनि रोक लगाएको छ ।
काठमाडौंबाट जाने सम्बन्धित कर्मचारीको सहयोगमा आजैबाट संक्रमित पंक्षी, पंक्षीजन्य पदार्थ नष्ट गर्ने कार्य सुरु गर्ने जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ ।
सो क्षेत्रमा करिब ४ सयको संख्यामा कुखुरा, हाँस लगायतका पंक्षी रहेको अनुमान गरिएको छ । नेपालमा पहिलो पटक २०६५ सालमा झापामा बर्डफ्लु भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *