इन्भेष्टमेन्ट बैंकबाट हराएको २३ लाख कर्मचारीकै भाउजुको घरबाट बरामद
कैलाली, २ फागुन । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायब भएको रकम भेटिएको छ । बैंककै कर्मचारी गोविन्द उपाध्याय रकम चोरी गरेको आरोपमा पक्राउ परेका छन् । उपाध्यायले उक्त रकम भाउजु नाता पर्ने लीला जोशीलाई राख्न दिएका थिए । अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीको घरमा २२ लाख ७० हजार रुपैयाँ भेटिएको छ ।
रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायब भएको थियो । पैसा गायब भएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले हिजो पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरे । बाँकी रकमबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।