मधेसी मोर्चाले गर्दा चुनावको मिति तोक्न सकिएन : प्रधानमन्त्री दाहाल
चितवन, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा उनले मधेसी मार्चालाई पनि सामेल गराएर निर्वाचन गराउनुपर्ने भएकाले मिति नतोकिएको बताए ।
चुनावका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर निर्वाचन आयोगलाई तयारी गर्नु भनिसकेपछि मिति तोक्नु बराबर भएको बताउँदै प्रधामन्त्री दाहालले चुनावको प्रक्रियामा सरकार गइसकेकाले शंका नगर्न आग्रह गरे ।
चुनावको विषयमा दलहरुबिच सहमति हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि चुनावको मिति घोषणा हुन सक्ने उनले बताए । चुनावका लागि मधेसी मोर्चादेखि अन्य राजनीतिक दलहरुबिच गम्भीर छलफल जारी रहेकाले चुनावको मिति घोषणा गर्न केही ढिलोहुन गएकाले यसलाई अन्यथा नलिन समेत उनले आग्रह गरे ।
स्थानीय निकाय पुनर्संरचना आयोगलाई विवाद मिलाउन १५ दिनको समय दिइएकोले पनि केहीदिन पर्खिएको बताउँदै उनले मोर्चासँगको सहमतिका लागी संविधान संशोधन विधेयक पारित गराउन प्रयास गर्ने नभए सहमति गरेर चुनावमा जाने दाबी गरे ।