आयोगको प्रस्ताव- जेठ १ र १९ मा चुनाव गरौं

भक्तपुर न्यूज

२४ माघ २०७३ ६:१४

आयोगको प्रस्ताव- जेठ १ र १९ मा चुनाव गरौं

काठमाडौं, २४ माघ । निर्वाचन आयोेगको प्रस्ताव अनुसार सरकारले जेठ १ गते स्थानीय तहको चुनाव घोषणा गर्ने तयारी गरेको छ । तत्काल चुनावको मिति घोषणा नभएपनि जेठ १ गते चुनाव गर्नेगरी तयारी भइरहेको स्रोतले जनाएको छ ।
आयोगले हिजो जेठ १ र १९ गते दुई चरणमा चुनाव गर्नेगरी मिति तोक्न र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो । आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आयोगको प्रतिवेदनबारे सुझाव दिन गठित समितिले काम सक्ने बित्तिकै मिति घोषणा गर्ने सरकारको तयारी छ । यसबिचमा मधेसी मोर्चासँग पनि सहमति खोज्ने सरकारको प्रयास छ । मोर्चाले आयोगको प्रतिवेदन परिमार्जन र संविधान संशोधन विधेयक पारित भएपछि मात्र मिति घोषणा गर्नुपर्ने अडान लिएको छ ।
तर विपक्षी एमालेले संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने बताउँदै आएको छ । दुवै पक्ष सहमत हुने गरी संशोधन विधेयक परिमार्जन सहित पारित गर्ने र त्यसो भएन भने पनि जेठमा चुनाव हुने स्रोतको दाबी छ ।
तर स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन र मिति तोक्ने विषयमा दलहरुबिच अझै सहमति जुट्न सकेको छैन । सरकारले मिति नतोकिकनै जेठमा चुनाव गर्नेगरी तयारी थाल्न आयोगलाई पत्र पठाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *