सरकारको गतिविधि विरुद्ध सशक्त प्रतिकारमा उत्रने विप्लवको चेतावनी
काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीका गतिविधि रोक्न सरकार लागिपरेको भन्दै सरकारको यस्तो गतिविधिविरुद्ध सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय राज्यले नेकपा माओवादीविरुद्ध धरपकड, दमन र भ्रामक प्रचार गर्दै आएको आरोप लगाएका छन् ।
विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, बिहीबार मन्त्रिपरिषदमा गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
महासचिव चन्दले आफ्नो पार्टीले जनताको अधिकारको पक्षमा अग्रभागमा बसेर काम गरिरहेको र भ्रष्टाचार, तस्करी, महङ्गी, कालोबजारी, अराजकताविरुद्ध संघर्ष गरिरहेको दावी गरेका छन् ।
उनले आफ्नो पार्टी यतिबेला आठौं महाधिवेशनमा गर्ने काममा जुटिरहेको भन्दै पार्टी विरुद्ध सञ्चारमाध्यमले गलत प्रचार–प्रसार गरेर महाधिवेशनलाई बाधा र्पुयाउने र जनताको आकर्षणलाई भाड्ने खेल गरेको आरोप समेत लगाए ।