सरकारको योग्यता र लोकमान सिंह कार्कीको योग्यता उस्तै : ओली
दमक, २७ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको योग्यता र लोकमान सिंह कार्कीको योग्यता उस्तै भएको टिप्पणी गरेका छन् । उनले लोकमान सिंह कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएजस्तै सरकार पनि अयोग्य भएको ओलीले बताए ।
प्रेस चौतारी झापाले बुधबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले लोकमान नांगिए जसरी यो सरकार पनि जनताका बीच नांगिदै गएको जिकिर गरे ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अपवित्र गठबन्धनबाट सरकार बनेको भन्दै उनले अहिलेको सरकार गठन प्रक्रिया नै गलत भएको र त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो ।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै ओलीले सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाए ।
उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोर्होयाए । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीले टिप्पणी गरे ।