मुलुकले केही दिन भित्रै निकास पाउने : ओली
काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रिय स्वार्थ अनुकुल अघि बढन नसकेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले सरकारसँग राष्ट्रिय स्वार्थ अनुकुल अघि बढ्ने सोच र समझ नै नदेखिएको टिप्पणी पनि गरे।
विराटनगर विमानस्थलमा संचारकर्मीमाझ कुरा गर्दै उनले पदीय र दलीय हित भन्दा माथि सरकार उठ्न सके मुलुकले केही दिन भित्रै निकास पाउने विश्वास पनि व्यक्त गरे।
अध्यक्ष ओलीले गलत बाटोमा नहिँडन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव पनि दिए। अध्यक्ष ओलीले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव पारित नहुने दावी गरे। पेश हुनै नसक्ने विषय सरकारले संसदमा पेश गराए पनि त्यसलाई पास गराउन नदिईने दृढता व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले सरकारसँग कानुनी र संवैधानिक रुपमै निषेध गरिएको विषयमा संसदमा पेश गराउन नहुने समझ र सोच नै नरहेको टिप्पनी पनि गरे। अध्यक्ष ओलीले मधेशवादी दलहरुप्रति संकेत गर्दै कसैको जिद्धी र अहंकारले निर्वाचन नराकिने पनि स्पष्ट पारे।