संसद बैठक स्थगित, अब सोमबार
काठमाडौं, पुस १४ । आज बोलाईएको व्यवस्थापिका संसदको बैठक पनि स्थगित भएको छ । नेकपा एमालेसहितका विपक्षी ९ दलले गरेको अवरोधका कारण संसदको बैठक लगातार ११ औं पटक स्थगित भएको हो । अब पुस १८ गते दिउँसो १ बजेसम्मका लागि बैठक बोलाइएको छ ।
बैठकको सुरुमै विपक्षी दलको तर्फबाट एमाले सांसद बैजनाथ यादवले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए । प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने भन्दै उनले सम्बोधन गरेपछि एमालेसहित विपक्षी दलका सांसद आ–आफ्नो कुर्सीबाट उठेका थिए ।
संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहित विपक्षी दलले पटकपटक संसद अवरुद्ध गर्दै आएका छन् । संसद बैठक चल्न नसक्दा चुनावको मिति घोषणा, चुनावका लागि आवश्यक कानुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग लगायत विषयमा छलफल हुन सकेको छैन ।