सभामुख र सात दलका नेताबिच आज छलफल हुने
काठमाडौं, ११ पुस । राजनीतिक गतिरोध अन्त्यका लागि आज ७ दलका नेताबिच छलफल हुँदैंछ । सभामुख ओनसरी घर्ती मगरको पहलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेताबिच छलफल हुन लागेको हो । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
सिंहदरबारमा पुस ४ गतेको छलफलमा दुई दिनभित्र सहमति खोज्ने बताएपनि तीन दलका शीर्ष नेताले छलफल समेत नगरेका बेला सभामुख घर्तीले सात दलका नेतालाई छलफलका लागि बोलाउनुभएको हो ।
सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी दल एमाले लगायत अन्य दलहरुले संशोधन विधेयक राष्ट्रहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।
जसका कारण दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अलपत्र बनेको छ ।