तत्काल स्थानीय निर्वाचन घोषणा गर्न कांग्रेसको आग्रह
काठमाडौं, १० पुस । नेपाली काँग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । आज बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले संविधान कार्यान्वयनका लागि चुनाव अपरिहार्य रहेकाले चाँडो मिति घोषणा गरेर चुनावको वातावरण बनाउनु पर्नेमा कांग्रेसले जोड दिएको छ ।
निर्वाचन स्थानीय निकायको नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहसमा काँग्रेसले पुरानै संरचना अर्थात निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष निकालेको छ ।
काँग्रेसले जसरी भए पनि स्थानीय निर्वाचन गराउनुपर्ने सरकारसँग माग गरेको छ । स्थानीय निर्वाचन घोषणा गर्दा हाल व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएका नेकपा (एमाले) लगायत विपक्षी दलमाथि संसद् खोल्न दबाब पर्ने काँग्रेसको रणनीति छ ।
बैठकमा महामन्त्री शशांक कोइरालाले ठूलो दलको नाताले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि सभापति शेरबहादुर देउवाले सक्रियता बढाउनु पर्नेमा जोड दिएका छन् । पदाधिकारीको बैठक सोमबार पनि बस्नेछ ।