सबैको मिलन बिन्दु स्थानिय तहको निर्वाचन : नायक
भक्तपुर, ६ पुस । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले राष्ट्रवादको कुरा गर्ने र मधेशको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानिय तहको निर्वाचन भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता भनेको केन्द्र र प्रान्तको नभएर स्थानिय तहको निर्वाचन भएको भन्दै सबैको मिलनु बिन्दु स्थानिय तहको निर्वाचन भएकाले मधेशी मोर्चा र एमालेले आ–आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण श्रृजना गर्ने तर्फ लाग्नु पर्ने बताउनु भएको हो ।
सबैले स्थानिय तहको निर्वाचनको बिषय उठाइरहेका छन्, तर समितिमा होस् वा संसदमा निर्वाचन बिधेयक रोकिएको अवस्था छ भने प्रतिपक्षले बोलीमा एक र ब्यवहारमा अर्कै रुप देखाएकै कारण निर्वाचन बिधेयक संसदमा रोकिएको भन्दै उहाँले निर्वाचन बिधेयक पास गरि तोकिएकै समयमा निर्वाचन गर्ने तर्फ अगाडि नबढे नेपाल र नेपालीले ठूलो क्षती भोग्नु पर्ने बताउनु भयो ।
संसद अवरुद्ध भइरहको अवस्थामा नेपाली निराश भएको बुझ्दै राष्ट्रिय पार्टीहरुको राष्ट्रिय भूमिका रहनु पर्ने भन्दै आवश्यक परे राष्ट्रको निकासका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गरी निकास दिनु पर्नेमा नायकले जोड दिनु भयो ।
वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्र्टीको नेतृत्वको भूमिका खेल्दै राष्ट्रको आवश्यकतालाई बुझ्दै अगाडि बढेर निकासको लागि अग्रसर बन्नु पर्नेमा जोड दिनु भयो ।
स्थानीय तहको निर्वाचन सबैका अघि एक चुनौतिको रुपमा देखिएको भन्दै आयोगको रिपोर्ट सरकारले नबुझेको भन्ने बिषय गलत भएको र आयोगको रिपोर्ट बुझ्नै पर्ने र केही प्रक्रिया अझैं बाँकि रहेको र आयोगले समेत केही बिषय समेट्न नसकेको र केही बाँकिरहेकाले हतारमा निर्णय लिँदा थप जटिल बन्ने भएकाले समस्या सम्बोधन गर्दै आयोगको रिपोर्ट बुझ्ने काम र आयोगलाई थप सुझाव दिने काम छिट्टै हुने नायकले बताउनु भयो ।
प्रतिपक्षको भूमिका रहेको एमालेले जसरी राष्ट्रवादको कुरो गरिरहेको छ यो समय सान्दर्भिक नभएको भन्दै बिदेशीको पैसोले पार्टीको संगठन बिस्तार गर्ने र राष्ट्रवादको कुरो गर्नु अमिल्दो रहेको उहाँको टिप्पणी छ ।