आज काठमाडौँमा सुरक्षित श्रमबारे सार्कस्तरीय गोष्ठी हुँदै
काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली मुलुकमा श्रम आप्रवासनलाई सुरक्षित बनाउने सम्बन्धमा छलफल गर्न सार्कस्तरीय एकदिने गोष्ठी आज राजधानीमा सुरु हुदै छ । नेपालस्थित युरोपियन युनियन र सेन्टर फर साउथ एसियन स्टडिज्को आयोजनामा हुन लागेको मिडिया सेमिनारमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागिता रहने युरोपियन युनियनले जनाएको छ ।
गोष्ठी दक्षिण एसियाली क्षेत्रमा श्रम आप्रवासनलाई सुरक्षित बनाउने भन्ने विषयमा केन्द्रित बताइएको छ । हालै द्वन्द्वग्रस्त मुलुक सिरिया, अफगानिस्तानलगायत मुलुकबाट १० लाख मानिस युरोपमा शरणार्थी बनिरहेका छन् । श्रम आप्रवासनमा नयाँ चुनौती थपिएका छन् त्यस्ता चुनौतीको सामना गर्नका लागि पनि उपाय खोजीने युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले जानकारी दिनुभयो ।
युरोपियन युनियनले श्रम आप्रवासनसम्बन्धी विश्वव्यापी रणनीति हालै सार्वजनिक गरेको र सोहीअनुसार काम गरिरहेको छ । साथै कार्यक्रममा श्रम आप्रवासनको असर, श्रमिकले भोग्दै आएका समस्यालगायतका विषयमा कार्यपत्र प्रस्तुत् हुने सेन्टर फर साउथ एसियन स्टडिज्का निर्देशक निश्चल पाण्डेले बताउनुभयो ।