संविधान संशोधन प्रस्तावको विरोधमा आज भक्तपुरमा विरोध सभा
भक्तपुर, १५ मंसिर । सरकारले हिजो दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा आज भक्तपुरमा विरोध सभा गरिएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा सूर्यबिनायकमा विरोध सभा गरिएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष प्रकाश थुस्साले भारतको निर्देशनमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताए ।

उनले भारतीय शासक वर्गको निर्देशनमा संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव नेपालको सार्वभौमिता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पर्ने भन्दै त्यसको विरोध गरेको बताए ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लवजुले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नुले देशमा निर्वाचन हुन नदिने षड्यन्त्र भएको बताए ।
सूर्यमढीबाट सूर्यबिनायकसम्म ¥याली आई विरोध सभामा परिणत भएको थियो । विरोध सभाभर सूर्यबिनायकमा चक्का जाम भएको थियो । भोलि मध्यपुर थिमीमा विरोध प्रर्दशन गरिने बताइएको छ ।