संविधान संशोधन विधेयकमा हाम्रो समर्थन हुन्न : यादव

भक्तपुर न्यूज

१५ मंसिर २०७३ ६:४८

संविधान संशोधन विधेयकमा हाम्रो समर्थन हुन्न : यादव

काठमाडौं, १५ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएको छ । सरकारले ल्याएको विधेयकले राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नै नगरेको फोरमको ठहर छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै विधेयकले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रियता, राष्ट्रिय एकता, विकासको सट्टा थप द्वन्द्व, अन्योल र अस्थिरतातर्फ लैजाने कार्य गरेको बताएका छन् ।
आन्दोलनरत पक्षहरूको असहमतिबीच जबरजस्ती संशोधन प्रस्ताव ल्याइएको भन्दै फोरमले यथास्थितिमा यसलाई समर्थन नगर्ने स्पष्ट पारेको छ । विधेयकले आन्दोलनका मागलाई सम्बोधन नगर्ने भएकोले संघर्ष जारी रहने यादवले चेतावनी दिएका छन् । आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेशमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेको फोरमको आरोप छ । सरकारले हिजो राति दर्ता गराएको संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाइएको कुनै पनि मागको पूर्ण रुपले सम्बोधन नगरेको फोरमको ठहर छ ।
आन्दोलनको मुख्य माग रहेको प्रादेशिक स्वायत्ता र स्वशासनसहित १० प्रदेशको संघीयता र सीमांकनको विषयलाई विवादित नै राखिएको छ, विज्ञप्तिमा भनिएको छ, मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन गरिएको छैन । जातीय र सामुदायिक जनसंख्याको आधारमा समानुपातिक समावेशिकरण र राष्ट्रिय पहिचानको मान्यताको केही चर्चासम्म नगरिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन–तीन जना अनिवार्यको दरले २१ जना र बाँकी ३५ जना प्रदेशको जनसंख्याको अनुपातमा निर्वा्चित हुने व्यवस्था प्रस्ताव गरिएको छ, फोरमले भनेको छ, यसमा मधेसीहरूको प्रतिनिधित्वलाई कम गर्न स्थानीय निकायका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष समेत रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ । वैवाहिक अंगीकृतलाई वैवाहिक बंशज बनाउन माग गरे पनि संशोधन प्रस्तावमा वैवाहिक अंगीकृत कै व्यवस्था गरिएकोमा फोरमले आपत्ति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *