सफा शहर भक्तपुरको फोहोर बन्न सकेन मोहर

भक्तपुर न्यूज

१५ मंसिर २०७३ ६:३१

सफा शहर भक्तपुरको फोहोर बन्न सकेन मोहर

भक्तपुर, १५ मंसिर । फोहोर सबैका लागि यति बेला टाउको दुखाइको विषय बनेको छ । शहरको फोहर व्यवस्थापन हुन नसक्दा दिन प्रतिदिन फोहोरले दुर्गन्ध बढाउनुका साथै विभिन्न किसिमका सरुवा रोग फैलाउने काम गरेको छ । हुन त फोहोरमा फल्छ मोहर भन्ने नारा नलागेको पनि होईन तर यसको उचित व्यवस्थापन गर्न नसक्दा फोहोर मोहर नभएर सबैका लागि वाक्क दिक्क र बोर बनेको छ यतीबेला उपत्यकाभित्र ।
सोच अनुसार काम गर्न नसक्दा र जेमा पनि हुने गरेको फोहोरी राजनीतिले फोहरलाई समेत नछाड्दा उपत्यकाको फोहोर व्यवस्थापन जटिल विषय बनेको सबैका अघि जाहेर छ । उपत्यकाभित्रका तीन जिल्लामध्ये सफा जिल्लाको रुपमा आफ्नो पहिचान बनाएको भक्तपुरले सरसफाइको मामलामा आशिंक उपलब्धी हासिल गरेता पनि मध्यपुर नगरपालिका भने फोहरमय नै देखिन्छ ।
यस्तै फोहरको व्यवस्थापनमा सवल देखिएको जिल्ला भक्तपुरका लागि समेत फोहोर व्यवस्थापन घाँडो बनेको छ भने फोहोरलाई मोहरमा परिवर्तन गर्न सकेको छैन । नगरमा संकलन गरिएको फोहोरको व्यवस्थापन हुन नसक्दा र उपचार पोखरीको उपयोग गर्न नसक्दा भक्तपुरको फोहोरले मोहरको स्वरुप पाउन सकेको छैन । फोहर संकलन र त्यसको उचित प्रयोग गर्न सकेमा कम्पोष्ट मल होस् वा अन्य इन्धनको रुपमा उपयोग गर्न सकिन्छ तर सम्बन्धित निकायको ध्यान यसतर्फ जान सकेको देखिँदैन ।
भक्तपुर नगरको फोहर व्यवस्थापनमा नगरपालिका सवल देखिएता पनि ल्याण्ड फिल्डको अभावका कारण फोहोर व्यवस्थापनको समस्या भने नगरपालिकाले भोग्दै आएको छ । भक्तपुर नगरपालिकाका अनुसार फोहोर ब्यवस्थापनको मामलामा भक्तपुर नगरपालिका अन्य नगरपालिकाको तुलनामा सक्षम देखिएपनि ल्याण्डफिल्ड साईटको अभावका कारण सोच अनुसारको काम गर्न नसकेको जनाउँछ ।
दसकौं अघि निर्माण भएका भक्तपुरका उपचार पोखरीको सदुपयोग गरी मल उत्पादनका साथै अन्य वैकल्पिक ईन्धनको उत्पादन गर्न सकिन्छ तर सो उपचार पोखरी स्थानीय निकायको मातहतमा नआउँदा समस्या देखापरेको छ ।
फोहोरको ब्यवस्थापनसँगै आर्थिक लाभ लिन सकिने भन्दै उपचार पोखरी त बन्यो तर माल पाएर चाल नपाउने आम नेपालीको स्वभाव यहाँ पनि देखियो । निर्माणपछि उपचार पोखरी तर्फ कसैको ध्यान जान नसक्दा उपचार पोखरी आफै उपचार पर्खिरहेको जस्तै भएको छ । भक्तपुरको सल्लाघारी र हनुमानघाटमा निर्माण गरिएको उपचार पोखरीको संरक्षण गर्न नसक्दा यसको लाभबाट बञ्चित बनेका छन् भक्तपुरबासीहरू । निर्माणपछि प्रयोगमा आउन नसकेका उपचार पोखरी स्थानीय निकायलाई हस्तान्तरण गर्ने विषय बेला मौकामा उठ्ने गरेता पनि हालसम्म त्यसले पूर्णता भने पाउन सकेको छैन् । उपचार पोखरीको व्यवस्थापन कसले गरेको छ व्यवहारगत यसको तथ्य जानकारी रहेको देखिँदैन् ।
भक्तपुर नगरपालिकाको स्यानिटेशन शाखा जानकारी दिन्छ सकंलन गरिएको फोहोरको परिमाणलाई हेर्दा भक्तपुर नगरपालिका फोहोर ब्यवस्थापन गर्न सक्षम देखिएको छ । फोहोरलाई आम्दानीमा परिणत गर्न लागि परेता पनि विभिन्न समस्याका कारण लक्ष्य हासिल गर्न सकेको छैन । भक्तपुरका दुई उपचार पोखरी केयूकेयलको निगरानी रहेता पनि यसको संरक्षणमा भने उसको कुनै उपस्थिति नरहेको उपचार पोखरी आसपासका बासिन्दाको आरोप रहेको छ ।
भक्तपुरका स्थानीयहरू भन्छन् उपचार पोखरी बनाउन त बनायो तर यसको व्यवस्थापन गर्न नसक्दा फोहोरले मोहरको रुप पाउन सकेन । शुरुमा फोहोर संकलन गरि त्यसलाई प्रशोधन गरि ठोस फोहोरलाई मलका रुपमा प्रयोग गर्ने र तरल फोहोर शुद्धिकरण गरि खोलामा पठाउने लक्ष्यका साथ उपचार पोखरीको निर्माण भएपनि सपनाको ससांरमा भक्तपुरबासीहरूलाई शयर गराउने बाहेक केहि हुन सकेन ।
ऐतिहासिक सम्पदा, कला र संस्कृतिको धनि भक्तपुर क्षेत्रमा बग्ने खोलाहरू फोहोरले पुरिने स्थितीमा पुगेको छ । उत्कृष्ट पर्यटन क्षेत्र भनेर नाक फुलाउने निकायहरू पनि पर्यटकहरू भक्तपुर प्रवेश गर्दा नाक छोपेर हिडेको दृश्य टुलुटुल हेर्न बाध्य छन् । चर्चा चल्ने गर्दछ भक्तपुर क्षेत्रमा सरसफाईको अवस्था अत्यन्त सवल छ, सफाईमा कर्मचारिहरूको सक्रियता पनि अन्य स्थानको तुलनामा प्रशंसनिय छ । यतिसम्म पनि भनिन्छ कि कतिबेला फोहोर हुन्छ र सफा गरिहाल्छु भन्ने सोचका साथ सफाई कर्मचारिहरू कुचो समातेर बसिरहेका हुन्छन् । तर यो सक्रियताको बेमजा त्यति बेला हुन्छ जव त्यसरी संकलन गरिएका फोहोर नै कहाँ लैजाने कसरी ब्यवस्थापन गर्ने भन्नेमा गएर अड्किन्छ ।
भक्तपुरका खोलाहरूमा नुहाएको, पानी पिएको स्मरण गर्ने ईनाचोका एक जेष्ठ नागरिक सुन्दर श्रेष्ठ भन्छन् समय वित्दै गयो आफनै आँखा अगाडि खोलामा फोहोर बढ्दै गयो, अहिले त पानी छुन पनि घिन लाग्छ । यस्ता थुप्रै जेष्ठ नागरिकहरको अनुभव सुन्दा बिगतमा खोलामा बग्ने कञ्चन पानी खेलको जो कसैले महशुस गर्न सक्छन् । यहाँका खोलाहरू फोहोर भएको देख्दा निसास्सिएको बताउँछन् अर्का जेष्ठ नागरिक नारायण गणेजु । उपचार पोखरीलाई पूर्ण प्रयोग गर्न नसक्ने हो भने सफा भक्तपुरको पहिचान गुम्ने खतरा उत्तिकै छ ।
यता सफा जिल्लाको उपमा पाएको भक्तपुर भित्रकै मध्यपुर नगरपालिका झनै फोहोरको समस्याबाट झेलिएको छ । फोहोरको संकलन र यसको ब्यवस्थापन नगरपालिकाका लागि टाउको दुखाई बनेको नगरपालिका जानकारी दिन्छ । पुरानो बस्तीकै फोहोर संकलन र ब्यवस्थापन टाउको दुखाई बनेका बेला बस्ती बिस्तारले तिब्रता पाएपछि मध्यपुर थिमी नगरपालिकालाई फोहोर संकलन र ब्यवस्थापनले झनै समस्या थपिदिएको छ । फोहोर ब्यवस्थापन नै प्रमुख समस्या बनेको यो नगरपालिकाले कसरी फोहोरलाई मोहोरमा परिणत गर्न सक्ला यस नगरपालिकाका स्थानियहरु गुनासो पोख्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *