नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको विषयमा धारणा तय गर्न बैठक बोलाइएको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ ।
आफूहरुको तीव्र असहमतिका बाबजुद सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि संसदमा पार्टीका तर्फबाट निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न आज बैठक बोलाईएको हो ।
संविधान संशोधनको विपक्षमा उभिएको एमालेले आजको बैठकमा संशोधनको विरुद्धमा शसक्त विरोध गर्न रणनीति तय गर्न बैठक बालोइएको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
एमाले स्थायी कमिटी बैठकले यसअघि नै संशोधन प्रस्तावको सदन र सडक दुवैबाट सशक्त प्रतिरोध गर्ने निर्णय गरेको थियो । आजको बैठकमा एमालेले संविधान संशोधनको विरोधमा थप रणनिति तय गर्दै सदनदेखि सडकसम्मको आन्दोलन तय गर्ने नेताहरुले जनाएका छन् ।