बाँदरका कारण २० ले ज्यान गुमाए
एजेन्सी, ७ मंसिर । एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच झडप हुँदा २० जनाले ज्यान गुमाएका छन् । झट्ट सुन्दा यो घटना अचम्म लाग्न सक्छ तर यो वास्तविकता लिबियाको दक्षिणी शहरको हो । घरमा पालेको एउटा बाँदरका कारण दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार लिबियाको दक्षिणी सहर सबामा उक्त घटना भएको हो । स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार एउ घरपालुवा बाँदरका कारण उक्त झडप भएको हो । स्थानीयको घरमा पालिएको एउटा बाँदरले एक बालिकालाई हमला गरेपछि दुई समुदायबीच हिंस्रक झडप भएको हो ।
सुलेमान र गद्दाफा समुदायबीच झडप भएको हो । गद्दाफा समुदायको स्थानीयले पालेको बाँदरले सुलेमान समुदायकी बालिकालाई आक्रमण गरेपछि दुई समुदायबीच झडप भएको हो । प्रारम्भमा बाँदर र तीनजनाको मृत्यु भएको थियो । तर कयौं दिनसम्म जारी झडपमा २० जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । झडपमा परी ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।