पाण्डेप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं, ३० कार्तिक । नेकपा माओवादी केन्द्रका नेताहरुले क्यान्सरका कारण निधन भएका सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
माओवादी मुख्यालय पेरिसडाँडामा पाण्डेको पार्थिक शरीर राखिँदा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्व सभामुख सुवास नेम्वाङसहित माओवादी, कांग्रेस, एमाले, नयाँ शक्ति नेपाललगायत दलका नेताले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले पाण्डेको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएका सम्मान व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित पाण्डेको हिजो नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा निधन भएको थियो ।
माओवादीभित्र ‘चाचा’ उपनामले चिनिने पाण्डेले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–४ का प्रतिस्पर्धी थिए । २०७० सालको संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गरेका पाण्डे माओवादीभित्र इमान्दार र सरल नेताका रुपमा चिनिन्थे ।