माओवादी कार्यालय कब्जा गरेर बसेका पूर्वलडाकूलाई प्रहरीले हटायो
काठमाडौं, २३ कार्तिक । नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्नामा बसेका पूर्वलडाकुहरुलाई प्रहरीले हटाएको छ ।
हिजो दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटमा ताला लगाएर धर्नामा बसेका थिए । बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । पार्टी कार्यालय घेराउ गर्न बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकु पेरिसडाँडामा बसेका थिए ।
सेना समायोजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौजनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो । यसैबीच शान्तिपूर्ण धर्नामा प्रहरीको दमन भएको भन्दै पूर्वलडाकुहरूले त्यसको घोर भत्सर्ना गरेका छन् ।
उनीहरुले ‘अयोग्य’को बिल्ला हटाउनुपर्ने, गणतन्त्रका योद्दा घोषणा गर्नुपर्ने, जनसेना सरह व्यवहार गर्नुपर्ने, पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने, घाइतेहरुको उपचार गर्नुपर्ने लगायत माग राख्दै आएका छन् ।