भक्तपुर । देशैभर हाल सञ्चालन भइरहेको खोप अभियानलाई सफल बनाउन सुर्यबिनायक नगरपालिकाले सरोकारवालासँग अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख जुना बस्नेतले दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, सम्पूर्ण विद्यालय ,संचारकर्मी, नगरप्रहरी, समुदाय लगायत सबैको सहयोग जरुरी रहेको बताइन् ।
उनले इँटा भट्टा, श्रमिक क्षेत्र लगायत पहुँचबाट टाढा रहेका बस्तीका बालबालिका नछुटुन् भन्ने तर्फ चनाखो बन्नुपर्ने बताइन् । यो अभियानमा दादुर—रुवेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने उनको भनाई थियो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं वरिष्ट जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भईसकेको भक्तपुरमा आ।व। २०७५/०७६ मा भएको जिल्लाको तथ्यांक अनुसार ८८ प्रतिशत बालवालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताए ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन र सबैलाई पुर्ण खोपको सुनिश्चित गराउन स्वास्थ्य स्वयं सेविकालाई सकृय बनाउन र माइकिङलाई जोड दिनुपर्ने बताए ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यबस्था समेत गरिएको जानकारी दिँदै खोपबाट कुनै असर नगर्ने बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईंले नगरपालिकाभित्रका ८ हजार ६ सय ५२ बालबालिका लक्षित संख्या रहेको जानकारी दिंदै महिला स्वास्थ्य स्वयम् सेबिका तथा स्वयम सेवक मार्फत ९ महिनादेखि ५ बर्षका बालबालिका भएको घरघरमा गई निम्तो कार्ड बितरण गरिएको बताए ।
‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको चापागाईंले जानकारी दिए ।
उनले स्थानीय वडा खोप समन्वय समिति र सरोकारवालाको निर्णयको आधारमा सबैलाई पायक पर्ने गरी नगरका बिभिन्न स्थानमा ७२ खोप केन्द्र निर्धारण गरिएको बताए ।
बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पुरा गर्नेलाई पुर्ण खोप लगाउनेको संख्यामा राख्ने गरिन्छ । नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त गरिने अभियानमा जुटेको छ । यही अभियान अन्तर्गत चैत ३ गतेदेखि ११ गतेसम्म भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाउन लागिएको हो ।
भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायकमा गरि चारवटा नगरपालिकामा १९८ वटा खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा ९ वटा खोप केन्द्र संचालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा कम्तिमा एक खोप कार्यकर्ता र २ जनाका दरले स्वंयंसेविका परिचालन हुनेछन् ।यसका लागि ३९६ जना स्वयंसेवक र ७१ जना खोप कार्यकर्ता परिचालन हुने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पुर्याई दादुरा रुवेला निवारण गर्ने उद्देश्य राखेको छ ।
प्रकाशित मितिः २०७६ चैत १ गते शनिबार
Comments