काठमाडौँ । मुख हाम्रो शरीरको महत्वपूर्ण अंग मध्ये एक हो । खान, बोल्न र हाँस्न तथा सास फेर्न समेत मुखले विशेष भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले हामीले हाम्रो मुखको सरसफाइमा कुनै प्रकारको पनि लापरबाही गर्नु हुँदैन् ।
मुखको सफाइ नगर्दा गन्ध आउने मात्र नभएर दाँत र गिजामा बिग्रिने तथा मुखमा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सर सफाईमा ध्यान नदिएमा हाम्रो मुखमा क्यान्सर समेत हुन सक्ने डर हुन्छ ।
दैनिक मुखको सफाइका लागि हामीले ५ देखि १० मिनेट सम्म ध्यान दिने गर्दा हाम्रो मुख, दाँत तथा गिजा समेत सफा र स्वस्थ रहने हुन्छ । मुखको पुरै सफाईको लागि सुरुमा दाँतको तथा जिब्रोको सर सफाईमा ध्यान दिन जरूरी छ । हाम्रो मुख गनाउने प्रमुख कारण भनेको हाम्रो दाँतमा अड्केको खानेकुरा र जिब्रोको फोहोरले गर्दा हो ।
हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउँन अलि समय लगाएर फ्लोराइडयुक्त मन्जन प्रयोग गरेर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ । बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने बानी बसाउनु पर्छ । नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्र्ने गरि दाँत माझ्नु पर्छ । ब्रसलाई तीन देखि चार महिनामा बदल्नु पर्छ ।
बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउना र अधिक मात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पुर्याउँछन् र दाँतमा झन्झनाहट पैदा गराउछ त्यसैले यी चिजहरु कम खानुपर्छ । धेरै गुलियो, अमिलो, चिसो तथा तातो खानेकुरा सकेसम्म कम खाने गर्नु पर्छ ।
वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने तथा बजारमा पाइने विभिन्न डेन्टल फ्लसको प्रयोग गर्दा पनि एस्तो अड्केको खानेकुरा निस्किनुका साथै मुखको गन्ध हटेर मुख ताजा हुने गर्छ । हामीले मुखमा खानेकुरा राखेर कहिले पनि सुत्ने गर्नु हुदैन । हामीले हाम्रो खानपानमा बिशेष ध्यान पुर्याउनु पर्छ । शरीरमा प्रसस्त पानी नपुग्दा पनि हाम्रो मुख गनाउने गर्छ त्यसैले हामीले दैनिक प्रसस्त रुपमा पानी पिउने गर्नु पर्छ ।
साथै, हामीले दिनदिनै नियमित रुपमा फाइबर तथा रेसा भएको पोसिलो खानेकुरा खाने गर्नु पर्छ । हामीले हाम्रो मुखलाई स्वास्थ्य राख्नका लागि तथा क्यान्सरबाट बच्नका लागि मादक पदार्थ, धूम्रपान र सुर्ती जन्य पदार्थको सेवन गर्नु हुदैन । दाँतमा पीडा होस् या नहोस वर्षमा एक पटक डेन्टिस्टसँग परीक्षण गराउँनु पर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ । जब हामीलाई दाँत, मुखमा समस्या महसुस हुन्छ भने डाक्टरकहाँ जानु पर्छ, आफैंँले घरेलु उपचारमा लग्नु हुँदैन् ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments