काठमाडौँ । महिलाहरुमा स्तन क्यान्सरको जोखिम बढेको एक तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक लाखमध्ये २१ दशमलव ८ महिलामा स्तन क्यान्सर देखिने गरेको छ । तीमध्ये १० जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।
महिलामा हुने सबैखाले क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत स्तन क्यान्सरबाट हुने गरेको छ ।
स्तन क्यान्सरको जोखिमः
–४० वर्षभन्दा माथिका
–आनुवंशिक खराबी भएका
–३५ वर्षपछि विवाह गरेर आमा बनेका
–१२ वर्ष अगाडि नै महिनावारी शुरू भएका
–मोटोपना भएका
–अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेका
–अधिक धूम्रपान तथा मद्यपान गर्ने
–बढी चिल्लो तथा बोसोयुक्त खाना खाएमा
यसैगरी, वंशाणुगत कारणले पनि नजिकका नातेदारमा स्तन क्यान्सर हुन सक्छ । विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएका र पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा पनि क्यान्सरको जोखिम बढी हुन्छ ।
लक्षणः
–स्तनमा गिर्खा हुनु
–स्तनको आकारमा परिवर्तन
–मुन्टाबाट रगत वा पिप बग्नु
–स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिनु
–मुन्टा भित्र धसिनु
यस्ता लक्षण देखिइसक्दा पनि प्रायः दुखाइ नहुने भएकाले स्तन क्यान्सरले धेरैलाई झुक्याउने गरेको चिकित्सकहरु बताउँछन् ।
स्तन क्यान्सरबाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्ने र बच्चा पाएपछि स्तनपान गराउनुपर्छ । प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments